
हेटौंडा \ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुर अध्यक्षमा इन्दिरा पाठक बस्नेत चयन भएकी छन् । संगठनको बुधवार हेटौंडामा भएको भेलाबाट इन्दिराको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन भएको हो ।
समितिमा उपाध्यक्ष अमृता लामा र सचिव सरस्वती थिङ रहेकी छन् । संगठनको आगामी बैठकबाट बाँकी पद बाँडफाँड गरिने नवनिर्वाचित अध्यक्ष इन्दिराले जानकारी दिइन् । उनका अनुसार समितिले अब टोल, वडा, क्षेत्रीय, गाउँपालिका, नगर र उपमहानगर कमिटीहरु गठन गर्नेछ । राप्रपा नेपाल र राप्रपा बीच पार्टी एकता भएसँगै संगठन विस्तार अभियानअन्तर्गत महिला संगठन मकवानपुर गठन गरिएको हो ।
राप्रपा जिल्ला अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता तथा केन्द्रीय सदस्य राजाराम बर्तौलाको प्रमुख आतिथ्यतामा भेला भएको थियो । भेलामा राप्रपाका नेता मधु अधिकारी, दामोदर वाग्लेलगायतकाको उपस्थिति रहेको थियो ।








