
हेटौंडा \ हेटौंडाको स्कुलरोड स्थित रियल युनिक कम्प्युटर इन्ष्टिच्यूटले पहिलो पटक मकवानपुरको विद्यार्थीहरुलाई “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप-२०२१” मा सहभागी गराउनको लागि प्रतिस्पर्धा गराउने भएको छ ।
सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै इन्ष्टिच्यूटका संचालक श्रमण कुमार श्रेष्ठले आउँदो सन् २०२१ मा हुन लागेको “माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप(२०२१” मा मकवानपुरका विद्यार्थीहरुलाई सहभागी गराउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागेको बताए । उनले प्रतिस्पर्धामा सहभागी हुनको लागि १३ वर्ष देखि २२ वर्ष सम्मका विद्यार्थीहरु सहभागिता हुन सक्ने उनले बताए ।
उनले प्रतिस्पर्धामा सहभागिता जनाउन चाहनेहरुको लागि आउँदो पुष १ गतेबाटनै रजिष्ट्रशन खुला हुने समेत बताए । उनले जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि ईन्ष्ट्रिच्युटले तयारी पुरा गरेको बताए । उनले प्रतियोगीतामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको फाईदा पुग्ने बताए । उनले जिल्लाका सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको फाईदा लिन समेत आग्रह गरे । कार्यक्रममा सहभागी हुन चाहनेहरुको लागी आवश्यक तालिमको व्यवस्था रहेको बताईएको छ । इन्ष्टिच्यूटले विभिन्न क्षेत्रका जनशक्तिको आवश्यकता पुरा गर्ने उदेश्यले २० भन्दा बढी कम्प्युटर कोर्षहरु साथै माईक्रोसफ्ट, एडब, एप्पल, सिई काउन्सिल आदिको अन्तराष्ट्रिय प्रमाणपत्रका कोर्षहरु समेत सञ्चालन गर्दै आइरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै दीप आईटी एण्ड एजुकेसनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्ट्रिच्युटका संचालक दीपेन्द्र लामिछानेले कन्सल्टेन्सीले नेपालको ७७ वटै जिल्लाका विद्यार्थीहरु बिच प्रतिस्पर्धा गराउने बताए । उनले यस प्रतिस्पर्दाले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्ने र माईक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउने बताए ।
उनले भने,“जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि पोखरा जानेछन् । पोखरामा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना विजेताहरु बीच प्रतिस्पर्धा हुनेछ । पोखराबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरीकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । विगत १८ वर्ष देखी यस च्याम्पियनसीप भैरहेको र सन् २०२० मा १३५ देशका १० लाख भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए । यस प्रतियोगितामा नेपालले यस अघि २०१३ मा वल्ड च्याम्पियनसीपको उपाधि हासिल गरेको थियो ।” प्रतियोगितामा सहभागिताको लागि प्रति विद्यार्थी २ हजार १ सय ७० रुपैया शुल्क लाग्ने बताईएको छ ।








