
हेटौँडा \ नेपाल पत्रकार महासंघ मकवानपुरको १६ औं वार्षिक साधारणसभा आगामी मंसिरको अन्तिममा हुने भएको छ। महासंघ मकवानपुरको विहीबार बसेको कार्यसमिति बैठकले महासंघको १६औं वार्षिक साधारणसभा आगामी मंसीर २६ गते हेटौंडामा सञ्चालन गर्ने निर्णय गरेको महासंघ मकवानपुरका सचिव गणेश अधिकारीले जानकारी दिएका छन ।
महासंघको अध्यक्ष हरी हुमागाईको अध्यक्षतामा बसेको बैठकले निरन्तर पत्रकारितामा क्रियाशील जेष्ठ पत्रकारलाई पेन्सनको व्यवस्था गर्न कोष रकमका लागि पहल गर्ने निर्णय पनि गरेको जनाइएको छ । बैठकले यसअघिको बैठकले जिल्लाबाट सिफारिस गरी पठाएका नयाँ सदस्यहरुलाई प्रदेश समितिले पनि अनुमोदन गरिसकेकोले तोकिएको शुल्क लिई सदस्यता वितरण गर्ने जनाइएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरले उपाध्यक्षद्धयको नेतृत्वमा ३ सदस्य पत्रकारिता पुरस्कार छनोट समिति गठन गरेको छ । आगामी साधारणसभा मार्फत प्रदान गरीने पत्रकारिता पुरस्कारका लागि ३ सदस्य पुरस्कार छनोट समिति गठन गरेको हो। महासंघ मकवानपुरका संस्थापक अध्यक्षको नाममा स्थापित न्हुच्छेमान श्रेष्ठ स्मृति क्रियाशील पत्रकारिता पुरस्कार र युवा व्यवसायी महेन्द्र राउतले स्थापना गरेको पत्रकारिता पुरस्कार वितरणका लागि उपाध्यक्षहरु कुमार अधिकारी र सरिता दाहाल तथा सहसचिव शुभलक्ष्मी विश्वकर्मा रहने गरि पुरस्कार छनोट समिति गठन गरेको महासंघ मकवानपुरका सचिव गणेश अधिकारीले बताएका छन ।








