समाचार

हेटौंडाका युवाहरु कांग्रेसमा प्रवेश

संवाददाता

हेटौंडा \  नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका सभापतिका प्रत्यासी तथा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट हेटौंडाका मेयरका  प्रत्यासी आनन्दराम पराजुलीले शनिबार हेटौंडाका केही वडाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।

कांग्रेस मकवानपुरको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्ता भेटघाट कार्यक्रममा तिव्रता दिएका पराजुलीले शनिबार हैटौंडा-८ कमानेमा आयोजित कार्यक्रममा एक दर्जन युवालाई कांग्रेसमा प्रवेश गराएका हुन्।

हेटौंडा-८ का वडा सभापति भूपेन्द्र कोइरालाको सभाध्यक्षतामा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा आगामी स्थानीय तह निर्वाचन अन्तर्गत हेटौंडाका मेयरका प्रत्यासी पराजुली सहित कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी लगायतले नवप्रवेसीलाई टिका र खादा लगाई कांग्रेसमा प्रवेश गराएका हुन्।

कार्यक्रममा बोल्दै पराजुलीले अब कांग्रेस मकवानपुर आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित रहनुपर्ने कुरामा जोड दिएका छन्। उनले आफु कांग्रेस जिल्ला अधिबेशन सम्पन्न भए लगत्तै कांग्रेस हेटौंडा नगर सहित अन्य क्षेत्रमा कांग्रेस जिताउन अभियानमा लागिसकेको उदघोष गरेका छन्।

कार्यक्रममा कांग्रेसका निवर्तमान वडा सभापति रत्नमणी बगाले, कांग्रेस बागमती प्रदेश १ ख प्रदेश प्रतिनिधि भरतराज न्यौपाने लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।