
काठमाडौं \ आईसिसी टि२० विश्वकप छनौट अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा खराब सुरुवात गरेको छ । टस हारेर पहिले व्याटिङ गरिरहेको नेपालले ७ विकेट गुमाउँदै ११७ रन बनायो । निर्धारित २० ओभर खेलेको नेपालले घरेलु टोलीलाई ११८ रनको लक्ष्य दिएको हो ।
नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।
ओपनर कुशल भुर्तेलले ५ रनमात्र बनाएर आउट भएका थिए । अर्का ओपनर आसिफ शेखले ४ रन जोडे । ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्र सिंह ऐरीले ११ रन जोडेका छन् ।
ओमानका स्पिनर खवर अलीले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।
नेपालले यस प्रतियोगितामा ओमानसँगै फिलिपिन्स, आएरल्यान्ड र क्यानडासँग समूह चरणमा खेल्ने छ ।








