
हेटौंडा \ नेपाल तरुण दल मकवानपुरले हेटौंडामा रहेको एक बालपुनर्स्थापन केन्द्रलाई सहयोग गरेको छ । तरूण दल मकवानपुरले हेटौंडा–१४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन केन्द्रमा आश्रित बालबालिकाहरूलाई खाद्यान्न सहयोग गरेको हो ।
केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामाग्री सहयोग गरेको तरूण दल सदस्य तथा कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जानकारी दिएका छन।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक,उपाध्यक्ष निराजन वर्तौला,जिल्ला सदस्य एवम् कार्यक्रम संयोजक राजकुमार बास्तोलालगायतले
केन्द्रका अध्यक्ष रामहरि कोइरालालाई करिब २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका थिए। आश्रममा हाल १३ जना अपाङ्ग तथा अभिभावकबिहीन बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष रामहरि कोइरालाले जानकारी दिए ।
कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सन्तोष सापकोटा, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, नेपाली कांग्रेस हेटौंडा–१४ का सभापति मनोज थिङ, तरुण दल जिल्ला कार्यसमितिका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।यस अघि कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले आफ्नो जन्मदिनमा बालपुनर्स्थापन केन्द्रका बालबालिकालाई खाजा खुवाएका थिए।








