समाचार

पत्रकार अधिकारी नेपाल प्रेस युनियनमा आवद्ध

संवाददाता

हेटौंडा \  मकवानपुरका पत्रकार गिरिजा अधिकारी औपचारिक रूपमा नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । नेपाल प्रेस युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा भएको कार्यक्रममा अधिकारी औपचारिक रूपमा युनियनमा आवद्ध भएका हुन् । अधिकारीलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलसहित पदाधिकारीले स्वागत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने बताए । उनले संगठनको अनुशासन र पद्धति अनुसार अघि बढ्न सुझाव दिंदै युनियनले अधिकारीलाई उपयुक्त अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युनियन अध्यक्ष सिग्देलले अधिकारीको बागमती प्रदेशमा रहेको सक्रियता र क्षमताबारे युनियन जानकार रहेको भन्दै उनको आवद्धताले युनियनमा थप उर्जा मिलेको बताए  ।

उनलेे प्रेस युनियनको महाधिवेशनको मिति छिट्टै तय गर्ने समेत जानकारी दिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, उपमहासचिव भिष्मराज ओझा, केन्द्रीय सदस्य दिलिपाश्री अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

विगतमा प्रेस युनियन मकवानपुरको सहसचिव भैसकेका अधिकारी, प्रेस सेन्टर मकवानपुरको अध्यक्ष र केन्द्रीय सदस्य पनि भएका थिए । विगत ८ बर्षदेखि स्वतन्त्र रूपमा पत्रकारिता गरेका अधिकारी पुन: युनियन फर्किएका छन् ।