कला / साहित्य

तेलुगू चलचित्रमा आँचल

संवाददाता

अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय (साउथ) चलचित्रमा पनि देखिने भएकी छन । उनी तेलुगू चलचित्र ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।

केही दिन अगाडि सो चलचित्रको पोखरा र काठमाडौमा पनि १५ दिनसम्म छायाङ्कन भएको थियो । चलचित्रमा आँचलको मुख्य भूमिका छ । चलचित्रमा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी छन् ।

विष्णुले नै निर्देशन गरेको चलचित्रको १० प्रतिशत मात्र छायाङ्कन बाँकी रहेको र त्यो भारतको हैदरावादमा हुनेछ । नेपाल र भारत दुवै देशमा रिलिज हुने बताइएको चलचित्रको कथा नै नेपाल र भारतसँग जोडिएको छ ।

चलचित्रमा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् । हैदरावादमा हुने चलचित्रको प्रिमियरमा आफू पनि सहभागी हुने आँचलले बताएकी छन् । चलचित्र आउँदो मार्चमा रिलिज हुनेछ । यस अगाडि साउथ फिल्ममा अभिनेत्री स्वस्तिमाले पनि अभिनय गरेकी थिइन् ।