समाचार

बागमती गाउँपालिकामा अख्तियारको अन्तरक्रिया

संवाददाता

हेटौंडा \  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाभित्र कार्यरत कर्मचारीको सहभागितामा शनिबार भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन विषयक अन्तरक्रिया आयोजना गरेको छ ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको उपस्थितिमा भएको अन्तरक्रियामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख अर्जुनकुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार तथा आयोगको कार्यालयबाट सम्पादन भएका कामकारबाही तथा भ्रष्टाचार न्यूनीकरण एवं सुशासन प्रवद्र्धनका सन्दर्भमा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको राज्यको नीतिअनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवद्र्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको उहाँले बताउनुभयो ।

अख्तियार कार्यालय हेटौंडाका उपसचिव विष्णुप्रसाद सापकोटाले स्थानीय तहसँग सम्बन्धित उजुरीको प्रवृत्ति र सुशासन प्रवद्र्र्धनमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । बागमती गाउँपालिकाका अध्यक्ष घलानले कार्यक्रमले जनप्रतिनिधिको क्षमता विकास गर्न र स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । बागमती गाउँपालिका २ का वडाध्यक्ष  जगत् भोलनले कार्यक्रम सुशासन प्रवद्र्धनमा जनप्रतिनिधिको क्षमता विकासमा निकै उपयोगी भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीपकुमार श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा सबै क्षेत्रको सार्थक सहकार्य र समन्वय हुनुपर्ने बताउँदै बागमती गाउँपालिकालाई भ्रष्टाचारमुक्त र सदाचारयुक्त बनाउने अभियानमा आफूहरू लागिपरेको बताउनुभयो ।