
खबरबाकस \ वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको आयोजना मकवानपुरका तीन स्थानमा जडीवुटी समूह खेती सम्बन्धी प्राविधिक सरसल्लाह तथा प्रशिक्षण कार्यक्रम गरेको छ ।
जडीवुटी खेतीमा चासो राख्ने समूह तथा जडिबुटी सहकारी संस्थाहरुको लागि स्थलगतरुपमा नै प्राविधिक सरसल्लाह तथा प्रशिक्षण गर्ने उद्देश्यले अनुसन्धान केन्द्रले तालिम सञ्चालन गरेको हो ।
केन्द्रले मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत वडा नं ६ मा पर्ने हङ्गलङ्ग स्थित चेपाङ्ग वस्तीमा एक दिने, हेटौंडा उपमहानगर वडा नम्बर १३, पदमपोखरीमा पर्ने मझुवाको प्रस्तावित होमस्टे समूहमा एक दिने र हेटौंडा उपमहानगरपालिका वडा नं १३, वनस्पति पदमपोखरीमा रहेका पाँचवटा टोल विकास समितिका पदाधिकारीहरुलाई एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
यी तीनै स्थानका कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत श्री रघुराम पराजुलीले जडीवुटी खेती सम्बन्धी प्रशिक्षण गर्नुभएको छ । कार्यक्रमको समन्वय एवं सञ्चालन वनस्पति सहायक सागीर हुसेनले गरेका थिए ।
तीनै स्थानका कार्यक्रममा गरी करिब ८० जना प्रशिक्षणमा सहभागी रहेका थिए । कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्रबाट सञ्चालित कार्यक्रमहरु, जडीवुटीको परिचय, मकवानपुरमा पाइने जडीवुटीहरुको अवस्था, सम्भाव्यता जडीवुटीको खेतीप्रविधि, जडीवुटीको प्रशोधन अवस्था तथा बजारको संभावनाबारे चर्चा गरिएको थियो ।








