समाचार

जोखिम न्यूनिकरणमा विपद् व्यवस्थापनको चासो

संवाददाता

 खबरबाकस \ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बुधबार हेटौंडामा भएको छ । प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको अध्यक्षतामा भएको बैठकले विपद् जोखिम् न्यूनिकरणमा चासो व्यक्त गरेको छ ।

बैठकले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ४ को उपदफा ३ बमोजिमको प्रक्रिया पूरा गरी इन्द्रसरोवर गाउँपालिका, राक्सिराङ्ग गाउँपालिका र मनहरी गाउँपालिकाबाट लाभग्राही पहिचान भई आएका घरपरिवारहरूको संलग्न विवरण अनुमोदन गर्ने निर्णय गरेको छ ।

यस्तै पहिचान भएका १५४ जना लाभग्राही ११ जना पुनर्निर्माण लाभग्राही, १३९ जना पुनर्स्थापना लाभग्राही र ४ जना निजी आवास मर्मत वा प्रबलीकरण लाभग्राहीहरूलाई अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ । सम्झौता भएका लाभग्राहीहरूलाई विभिन्न किस्तामा अनुदान रकम उपलब्ध गराउनका लागि मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ मा उल्लेख भए बमोजिम प्राविधिक मूल्याङ्कन स्थानीय तहहरूले गरी जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा पठाउने पनि निर्णय भएको छ ।

गत जेठ ३१ गतेदेखि २०७८ कार्तिक ५ गतेसम्मको विपद्का घटनाबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकले पाए सरह विपद् पीडित उद्धार राहत उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा स्थानिय तहका अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।