
हेटौंडा \ रेडियो सरोवरले नेपालकै लोपोन्मुख वनकरिया समुदायलाई दशैं मनाउन पाडी सहयोग गरेको छ ।
मनहरी ४ ट्वाङग्रामा रहेको वनकरिया बस्तीमा पुगेर रेडियोका सञ्चालक एवं स्टेशन म्यानेजर राजु शाश्वत लामिछानेले एक थान पाडी सहयोग गर्नुभएको हो ।
यसैगरी,समाजसेवी राजेन्द्र सिम्खडा र सुरेन्द्र भट्टराईले वनकरिया समुदायलाई चिउरा र मसला सहयोग गर्नुभएको छ । वनकरिया बस्तीमा दशैं मनाउन समस्या भएको जानकारी आएपछि सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्धेश्यले सहयोग गरिएको रेडियोका स्टेशन म्यानेजर लामिछाने बताउनुभयो ।
दशैं मनाउन मासु र चिउरा पाएपछि अगुवा सन्तमाया वनकरियाले खुशी व्यक्त गर्नुभयो । उहाँले वनकरिया बस्तीमा दशैं छाउने बताउनुभयो ।
मकवानपुरमा मात्रै बसोबास रहेको वनकरिया समुदायको मनहरि गाउँपालिका ४ ट्वाङ्ग्रामा २० घरधुरी रहेका छन् । उनीहरुको आफ्नै स्वामित्वमा एक धुर जमिन पनि छैन । खोलामा माछा मार्ने र जंगली कन्दमूल खाएर वनकरियाले आफ्नो जीविका चलाउने गरेका छन् ।








