समाचार

थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

संवाददाता

काठमाडौं \  तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले  नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए।

उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने,  बुधबार उपास अर्थात व्रत बस्‍ने र बिहीबार पारन (बिसर्जन) गर्ने गर्छन् । थारु महिलाहरु यतिबेला माइतमा आएका छन् । माइत जान नसकेका महिलाहरु ससुरालीमै भए पनि व्रत प्रारम्भ गरेका छन्।

वर्तको पहिलो दिन मंगलबार वर्तालु महिलाले स्थानीय जलासयमा गएर स्नान गरेर जलासयकै छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पूजा गरेका छन्। साथै जलासय वा कुवाबाट फर्केर घर आउँदा आफ्नो कूल देवताको ठाउँलाई लिपपोत गरेर पूजाआजा गरेका छन्।