समाचार

खाद्य प्रविधि कार्यालयको आफ्नै नयाँ भवन

संवाददाता

हेटौंडा \  हेटौंडा औद्योगिक क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको पाँच तल्ले सुविधा सम्पन्न भवन निर्माण भएको छ । २०७२ सालको भूकम्पका कारण जिर्ण बनेको खाद्य प्रविधिको कार्यालयका लागि नयाँ सुबिधा सम्पन्न पाँच तले भवन निर्माण गरिएको हो ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण अन्तरगतको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनले कार्यालयको भवन निर्माण गरेर विहीबार हस्तान्तरण गरेको हो । कुल १३ करोड २६ लाख ६० हजार रुपैयाँमा भवन निर्माण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख इन्जिनियर तुलसी राम खरर्वुुजाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजाललाइ नयाँ भवन हस्तान्तरण गरेका थिए ।

खाद्य प्रविधिका प्रमुख रिजालले भुकम्पपछी निकै कठिनाइका साथ काम गर्नुपरे पनि अब भने सुविधा सम्पन्न भवन निर्माण भएपछी कार्यालय सञ्चालनमा सहज हुने बताए । निर्माणको जिम्मा पाएको हनुमान कन्ट्रक्सनले सक्नुपर्ने मिति अगाबै भवन निर्माणको काम सकेको थियो । कुल साना ठुला कोठा, हल समेत गरेर ५२ वटा कोठाको भवन निर्माण भएको इकाइ भवनका इन्जिनियर रविन पाठकले बताए ।

भवनमा सोलार सिस्टम, भवन सम्म आउनका लागि स्लाब ढलान बाटो, पार्किङ सेडको व्यवस्था, क्यान्टीन ब्लक, पालेघर, सुरक्षा पोष्ट, पम्प हाउस, फायरफाइरिङको व्यवस्था भएको र बगैचा समेत निर्माण गरिएको छ ।