समाचार

फोटो पत्रकार समूहमा दाहालको नेतृत्व

संवाददाता

खबरबाकस \ राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको बुधबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले धर्मेन्द्र दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै समूहको सदस्यहरुमा बिक्रमकुमार बानियाँ, राजन कटुवाल, मिना श्रेष्ठ, दिलबहादुर लामा, अनिष चौँलागाई, र सुशन लामिछाने चयन भएका छन् ।

समूहका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकारिता र आमसंचारका माध्ययमले नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए ।

सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मानपत्र प्रदान गरेको हो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, निवर्तमान अध्यक्ष हरि हुमागाई, समूहका सल्लाहकार गिरिजा अधिकारी लगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।