
काठमाडौँ \ थारु समुदायले रैब अर्थात बड्का अटवारी पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ महीनाको पहिलो आइतबारदेखि यो पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । यस दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफुल आदि खाने गरिन्छ ।
थारु भाषामा आइतबारलाई रैब भनिन्छ । आइतबारका दिन गर्नुपर्ने संस्कार अनुसार ग्रामथानका अगुवाको आज्ञाले यो पर्व मनाउने गरिएको थारु संस्कृतिविद भुलाइ चौधरी बताउँछन् ।
यस पर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कुलदेवता रिसाउने मान्यता रहिआएको छ। यो पर्वमा थारुहरुले बिहानै नजिकैको तलाऊ, पोखरी वा खोलामा स्नानगरी प्रकृति र कुलदेवतालाई परिकारहरु विधिवत चढाउँदै प्रसादको रुपमा खाने गर्दछन् । तर यो वर्ष भने कोरोना महामारीका कारण आफ्नै घरमा बसेर पर्व मनाइँदै छ ।








