
खबरबाकस \ सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा आठौं सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
दिवसका अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सिमलटारको बुङदल सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा पर्ने खयरघारीमा वृक्षारोपण गरिएको हो । जहाँ जलेश्वर महादेवको मन्दिर स्थापना गरी वनभित्र धार्मिक क्षेत्रको रुपमा लैजानको लागि निर्माण कार्यभइरहेको स्थानमा वृक्षारोपण गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेल, वडा नम्बर–५ का वडा अध्यक्ष जितबहादुर घिमिरे, महासंघ जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघका अध्यक्ष बलराम अधिकारी, वन समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।








