
नुवाकोट \ कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कार पत्रकार शक्तिमाया तामाङलाई प्रदान गरिएको छ । यस वर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट उहाँलाई शुक्रबार सदरमुकाम विदुरमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो ।
उत्तरगया दैनिकको चौथो वार्षिकोत्सवका अवसरमा पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कारबाट तामाङलाई सम्मानित गरिएको हो ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो । विगत आठ वर्षदेखि नुवाकोटको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार तामाङ बीबीसी नेपाली सेवाको नुवाकोट संवाददाताका रूपमा कार्यरत हुनुहुन्छ । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।








