समाचार

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस

संवाददाता

काठमाडौं \  हरके वर्षको जुलाई ३० मा अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न संघसंस्थाले कार्यक्रमको आयोजना गर्दैछन् । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानव अंग बेचबिखनजस्ता कामका लागि मानव बेचबिखन हुने गरेको छ ।

वर्षेनी कति मानिस नेपालबाट बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक भने छैन । यद्यपि, विश्वमा सवा दुई करोडभन्दा बढी मानिस बेचबिखनमा पर्ने गरेको अनुमान छ । नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । आजको आधुनिक युगमा मानिसले मानिसलाई नै बेचबिखन गर्नेजस्तो घृणित कार्य यस धर्तीमा फष्टाउँदै जानु कथित सभ्य समाजको कलंक हो ।