समाचार

कुलो लगेपछि स्थानीयले पन्छाए पहिरो, धान रोपाई सुचारु

संवाददाता

अविरल वर्षाका कारण पहिरोले कुलो पुरिएपश्चात किसान आकाशेपानीको भरमा धान रोपाई गर्न बाध्य भएका छन् । मकवानपुरगढी वडा नम्बर ५ सिमलटारमा थाकलडाँडा सामुदायिक वनमा गएको पहिरोले ज्यामिरे खोलाबाट सिचाँइका लागि ल्याइएको कुलो बगाए पछि आइतबार सिमलटारबासीले पहिरो पन्छाएको छ ।

कुलो बगाएपछि किसानले भारी वर्षाभएको बेला धान रोपाई गरेका थिए । शनिबारबाट पानी नपरेकाले धान रोप्न रोकिएपछि आइतबार कुला निर्माण गरिएको हो । खोलामा जेसिबी प्रयोग गरिएको र अन्य स्थानमा किसानहरुको सहभागितामा गरिएको श्रमदानले कुलो निर्माण गरिएको सिमलटार टोल विकास संंस्थाका अध्यक्ष दीपेश दाहालले बताए ।

कुलो निर्माणमा सिमलटारका वयोबृद्ध, महिला देखि युवाहरुले श्रमदान गरेका थिए । कुलो निर्माण पश्चात पानी ल्याई धान रोपाई सुचारु भएको छ । हरेक वर्ष वर्षातको समयमा सिमलटारबासीले यो समस्या भोग्दै आइरहेका छन् । ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलका कारण सिचाँइको अर्को कुलो भत्काइएपछि एउटा मात्र कुलोको भर पर्न सिमलटारबासी बाध्य भएका छन् । पक्की पुल निर्माणको क्रममा भत्काइएको कुला नबनाइँदिदा सिमलटारबासीहरु वडा र गाउँपालिकाका जनप्रतिनिधि प्रति आक्रोस व्यक्त गर्दै आइरहेका छन् ।