समाचार

मनहरी गाउँपालिकाको बजेट ८३ करोड

संवाददाता

हेटौंडा \ मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष मनिला विष्टले गाउँपालिकाको ९ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले चालु र पुँजिगत कार्यक्रम तर्फ एकमुष्ट ८३ करोड ६७ लाख ४६ हजारको बजेट विनियोजन गरेको छ । विगत वर्षहरुमा संचालन गर्दै आएको निति तथा कार्यक्रमहरुलाई निरन्तरता दिई हालको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका कार्यक्रम थप गरी बजेट ल्याईएको मनहरी गाउँपालिका उपाध्यक्ष विष्ठले बताइन् ।

गाउँपालिकाले मोती बिन्दुको बिरामीलाई अपरेसन गर्ने २ हजार, दिर्घरोगि जेष्ठ नागरिकलाई घरघर औषधी उपलब्ध गराउने र गरीव बिपन्न अशक्त नागरिकको पहिचान गरि १ हजार परिवारको निशुल्क थाहा स्वास्थ बिमा कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष एकराज उप्रेतीले बताए ।

त्यसैगरी सरुवा रोग नियन्त्रण अस्पताल १० वटै स्थानीय तह प्रदेश सरकार जिल्ला समन्वय समिति संग सहकार्य गरि स्थापना गर्न बजेट छुट्याउने, रगतबाट प्लाज्मा निकाल्ने उपकरण खरिदका लागि गाउँपालिकाले आर्थिक सहयोय गर्ने र कोभिड अस्पताललाई थप व्यवस्थित गरिने उप्रेतीले बताए ।

गाउँपालिकाले खरको छाना मुक्त तथा जनमुखी जनता आवास निर्माणलाई निरन्तरता, तरकारी निःशुल्क ढुवानी गर्न कृषि एम्बुलेन्स खरीद गर्ने, जनजाति संग्रालय स्थापना गर्ने योजना बनाएको छ । मनहरी ५ र ९ रजैया र मनहरी १ चकरी खोलामा पक्किपुलको डिपिआर तयार गर्ने, जग्गा नाप जाँच कार्यलाई छिटो छरितो गरि जनतालाई जग्गाको मालिक बनाउन सक्रियता पुर्वक काम गर्ने अध्यक्ष उप्रेतीले बताए । साथै ८० वर्ष पुगेका सासू ससुराको सेवा गर्ने बुहारीलाई पहिचान गरि सम्मान गर्ने उनले बताए ।