समाचार

राक्सिराङका एक सय १५ परिवारलाई खाद्यान्न सहयोग

संवाददाता

राक्सिराङ गाउँपालिकाको वडा नं ३ का एक सय १५ परिवारलाई राहत वितरण गरिएको छ । इस्थर बेन्जामिन स्मृति संस्थाले सो वडाको सानोदेउकोट, आलखोप, सरखारी, केराबारी, गहुँबारी, सिउरानी लगायत गाउँमा राहत वितरण गरेको हो ।

लामो समयसम्म जारी निषेधाज्ञाका कारण गाउँ गाउँमा खाद्यान्न समस्या बढ्न थालेपछि सहयोग गरिएको संस्थाका जिल्ला कार्यक्रम संयोजक बुद्ध लामाले बताए । उनका अनुसार प्रतिपरिवार एक बोरा चामल, दाल, चना, नुन साबुन लगायत सामाग्री सहयोग गरिएको हो ।

राक्सिराङ ३ का वडा अध्यक्ष बाबुलाल स्याङतानको उपस्थितिमा राहत वितरण गरिएको थियो । स्याङतानले कोभिडका कारण गाउँ गाउँका सबैजसोमा खाद्यान्न समस्या देखिन थालेको बताए । गरिब विपन्न परिवारमा लामो समयदेखि भोकमरिको समस्या रहेको समेत उनले बताए ।

पत्रकार ज्ञानेन्द्र तामाङको पहल र सहजीकरणमा इस्थर बेन्जामिन स्मृति संस्थाले राहत वितरण गरेको हो । राहत वितरणका क्रममा नेपाली कांग्रेस गाउँपालिकाका सभापति बिरेन्द्र जिम्बा, पत्रकार जयराम मुक्तान, स्थानीय टोल विकास संस्थाका अध्यक्ष चन्द्र बहादुर दोङलगायत बुद्दिजिबी तथा समाजसेवी हरुको सहभागिता रहेको थियो । संस्थाले यसअघि राक्सिराङको खैराङ, मनहरीको प्रतापपुर, डिपाड, सुनाचुरी र हेटौंडामा खाद्यान्न सहयोग गरिसकेको छ ।