देवघाटबाट हजारौं भक्तका साथ अगाडि बढ्यो सीता-राम रथयात्रा

संवाददाता
८ बैशाख २०७८, बुधबार १७:३५

भरतपुर \  राम, सीता, लक्ष्मण र हनुमानको प्रतिमा सहितको सीताराम यात्रा आज बिहान चितवनको देवघाटबाट माडीतर्फ प्रस्थान गरेको छ । सो रथयात्रा काठमाडौंबाट मंगलबार चितवन प्रस्थान गरेको थियो । मंगलबार राति रथयात्रालाई देवघाटमा राखिएको थियो ।

आज बिहान देवघाटमा प्रतिमाहरुलाई गण्डकी स्नान गराउने कार्यक्रम रहे पनि प्रतिमा अत्यन्तै ठूला भएकाले त्यसो गर्न सम्भव नभएको आयोजकहरुले जानकारी दिएका छन् । प्रतिमाहरुलाई एकसय आठ कलश र घडामा गण्डकीबाट ल्याइएका जलबाट देवघाटमा स्थान गराएर रथयात्रा अगाडि बढाइएको छ ।

सो रथयात्रा आजै चितवनको माडी स्थित अयोध्यापुरीमा पुग्दैछ । रथयात्राको साथमा हजारौं हजार नरनारीहरु रहेका छन् । त्यसैगरी हिन्दू तथा बौद्ध धर्मका गुरुहरुको पनि ठूलो संख्यामा रथयात्रामा उपस्थिति रहेको छ ।

रथयात्राको सबैभन्दा अगाडि हनुमानको प्रतिमा भएको रथ राखिएको छ । त्यसपछि रामको प्रतिमा भएको रथ, त्यसपछि सीता र त्यसपछि लक्ष्मणको रथ राखिएको छ । रथको पछाडि नेपाली सेना र प्रहरीको ब्याण्ड पनि काठमाडौंबाट साथमै गएको छ ।

माडीमा आज एक भब्य धार्मिक अनुष्ठान बीच चार प्रतिमाहरुलाई प्राण प्रतिष्ठा दिइँदै छ । माडीमा हुने समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सहभागिता हुँदैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*