उद्योग संघ चितवनद्धारा औद्योगिक राहत कोष स्थापना

संवाददाता
२५ फाल्गुन २०७७, मंगलवार ०८:३१

चितवन \ उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताए । उनले भने “कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महिनासम्म बिनाव्याज सहयोग गरिनेछ ।” कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महिनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले बताए ।

भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो । उनले भने “नेपालमा पहिलोपटक हामीले यो अभियान शुरु गरेका छौँ ।”

अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले रु पाँच-पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ । संघका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*