भरतपुरमा अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन
भरतपुर \ भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो इन्जिनियरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन भएको छ ।
सामाजिक समस्यालाई इञ्जिनियरिङ र प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर शुक्रबार अन्तर्राष्ट्रिय ‘ई–कन्फ्रेन्स’ गरिएको हो । यु–टेक कलेजका प्राचार्य प्राडा केशवदत्त अवस्तीले ईकन्फ्रेन्सले चितवन र नवलपुर क्षेत्रको शैक्षिकस्तरलाई उच्च तहमा पु¥याएको बताए ।
कलेजले इञ्जिनियरिङ विषयमा स्नातकोत्तर तहमा अध्ययन गराइरहेको भन्दै अवस्तीले नयाँनयाँ खोज र अनुसन्धानसँग रहेका स्वदेश तथा विदेशका इञ्जिनियरहरुले कार्यपत्र प्रस्तुत गरेका बताए । चितवनमा नै पहिलो पटक इन्जिनियरिङ र प्रविधि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिएको अवस्तीको भनाइ छ । सो सम्मेलनमा मुख्य वक्ताका रुपमा रहेका नेपालका प्राडा टेकराज ज्ञवालीले ‘नेपालको पूूर्वाधार विकासमा इन्जिनियरिङ कलेजहरु मेरुदण्ड’ तथा लण्डनका डा गारी बलायरले ‘प्रविधि र वातावरण: सहजीवी सम्बन्धका लागि एक रुपरेखा’ विषयमा धारणा राखेका थिए ।
सो सम्मेलनमा स्वदेश तथा विदेशका १५ बढी इञ्जिनियरहरुले दिगो इन्जिनियरिङ र प्रविधि व्यवस्थापनमा पछिल्लो आविष्कार विषयमा कार्यपत्र प्रस्तुत गरेका सम्मेलनको प्राविधिक व्यवस्थापक इन्जिनियर सुलभ अधिकारीले बताए ।
पोखरा विश्वविद्यालयका उपकूलपति प्राडा प्रेम नारायण अर्याल प्रमुख अतिथि रहेको सम्मेलनमा आईओई पुलचोक क्याम्पसका प्राडा रामचन्द्र सापकोटा र पूर्वाधार नीति विज्ञ डा सूर्यराज आचार्य विशिष्ट अतिथिको रुपमा रहेका थिए । सम्मेलनमा पोखरा विश्वविद्यालयका सम्मेलन सम्पादन प्रमुख डा अञ्जय कुमार मिश्र, पुलचोक क्याम्पसका डा सुरेन्द्र श्रेष्ठ, पोखरा विश्वविद्यालयका परीक्षा प्रमुख डा टेकराज ज्ञवाली, पूर्वपरीक्षा प्रमुख डा भरतराम ढुंगाना, पोखरा विश्वविद्यालयका प्राडा माधवप्रसाद कोइराला, आईओई पुलचोक क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा गोकर्णबहादुर मथुरालगायत अतिथिहरु रहेका थिए । सम्मेलनको अध्यक्षता यु–टेक कलेजका प्रबन्ध निर्देशक इञ्जिनियर बाबुराम उपाध्यायले गरेका थिए ।