चितवनमा लाखौं पुरस्कारको ‘प्रधानमन्त्री कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु
चितवन \ देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताए ।
खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईले बताए । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उनको भनाइ थियो । आजदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागिता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्ले बताए ।