जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली चितवन आउँदै
चितवन \ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउँदै हुनुहुन्छ । भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो ।
प्रधानमन्त्रीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्यास गर्नुहुनेछ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडकसँगै चार बिघा चार कट्ठा जमिनमा सिटीहल निर्माणको काम सुरु भएको छ । संघिय सरकारको बजेटबाट सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले बोलपत्र आह्वान गरी आयोजना अघि बढाएको हो ।
यस्तै नारायणगढको पुल्चोकदेखि गोन्द्राङ्गसम्मको छ लेन सडक दुई वर्ष चार महिनाभित्र बनिसक्ने गरी रु एक अर्ब १२ करोडमा ठेक्का लगाइएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडक खण्ड भरतपुर र नारायणगढको मुख्य शहरी क्षेत्रमा पर्दछ । यी दुवै आयोजनाको काम सुरु भइसकेको छ ।
यस्तै आजै भरतपुरको केन्द्रीय बस टर्मिनलमा मध्याह्न १२ः ३० बजे हुने जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री इश्वर पोखरेल गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेतो सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभाको तयारी पुरा भएको नेकपा चितवन (ओली समूह)ले जनाएको छ । जनसभा परिचालन समितिका संयोजक काशिनाथ अधिकारीका अनुसार सहभागीले स्वास्थ्यको ख्याल गर्न र अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरिएको छ ।
प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो ।