भरतपुर–दमौली प्रसारण लाइनको काम अघि बढ्यो, मुआब्जाको लागि निवेदन माग

संवाददाता
२१ पुष २०७७, मंगलवार १७:३२

चितवन \ दमौली–भरतपुर २२० केभी प्रसारणलाइन आयोजनाको काम अघि बढेको छ । जग्गा प्राप्तिको प्रक्रिया सुरु भएसँगै सो काम अघि बढेको हो ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ सेती जलविद्युत् आयोजनाको विद्युत प्रवाह गर्न उक्त प्रसारणलाइन निर्माण गर्न लागिएको हो । तनहुँ हाइड्रोपावरको आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाको लागि तनहुँ क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारणको काम सुरु भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘अब भरतपुर क्षेत्रमा पर्ने जग्गाको पनि तथ्यांक निकाल्ने काम जिल्ला प्रशासन कार्यालय मार्फत् भइरहेको छ । अब छिट्टै चितवनमा पनि मुआब्जाको काम सुरु गरिन्छ ।

त्यसैगरी प्रमुख घिमिरेले जंगल क्षेत्रमा रुखको गणना पनि गरेर वन मन्त्रालयमा पठाइएको जानकारी दिए । सन् २०२२ को मार्चमा यो योजना सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । प्रसारण लाइन देवघाट हुँदै भरतपुरको आँपटारी शब स्टेशनमा जोडिन्छ । तनहुँको दमौलीदेखि चितवनको भरतपुरसम्म २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएकोले लाइनको टावर राखिने जग्गा स्थायी रुपमा प्राप्ति गर्न १५ दिने सूचना प्रकाशित गरिएको छ ।

तनहुँको ब्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका टावरमा पर्ने जग्गाका जग्गाधनीलाई मुअब्जाका लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिन आयोजनाले आग्रह गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*