चितवनमा विपन्न परिवारलाई ३५ लाख मूल्यको सामग्री सहयोग
चितवन \ पारिवारिक हेरचाह गुमाएका बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा विगत ४६ वर्षदेखि सक्रिय नेपालको सामाजिक संस्था एसओएस बालग्राम नेपाल चितवनले आइतबार परिवार सबलीकरण कार्यक्रम गरेको छ ।
सिमान्तकृत एवम् विपन्न परिवार र तिनका बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्दै बालग्रामले परिवार सबलीकरण कार्यक्रम गरेको हो । कार्यक्रममार्फत् सिमान्तकृत एवम् विपन्न परिवारलाई ३५ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको बालग्रामका राष्ट्रिय निर्देशक भोला पौडेलले बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालले ती सबै सहयोग लक्षित व्यक्तिलाई वितरण गरिन् ।
महानगर प्रमुख रेनु दाहालको संकल्पबाट जन्मिएर महानगरले सञ्चालन गरेको सिमान्तकृत एवम् विपन्न परिवारका छात्राका लागि साइकल वितरण कार्यक्रमबाट प्रभावित भएर बालग्रामले समेत आफ्ना विद्यार्थीका लागि १६३ वटा साइकल वितरण गर्नेदेखि अरु धेरै कार्यक्रम गरेको पौडेलको भनाइ छ ।
कार्यक्रमअन्तर्गत सिमान्तकृत एवम् विपन्न परिवारका बालबालिकाको लागि १६३ थान साइकल, २० बालबालिकाको लागि ट्याब्लेट, १०५ बालबालिकाको लागि शैक्षिक सामग्री, ७० परिवारलाई प्रतिपरिवार चार हजार ५०० रुपैयाँ बराबरको खाद्यान्न वितरण, जीविकोपार्जन कार्यक्रमअन्तर्गत २० परिवारको लागि घुम्ती ठेला पसल, गाईपालन फलफूल पसल, टेलरिङ लगायतका विभिन्न उद्यम गर्नका लागि प्रत्येक परिवारलाई ५० हजारका दरले नगद वितरण गरिएको थियो ।