मधेशी समुदायलाई अपमानजनक शब्द प्रयोग गरे कारवाही : मधेसी आयोग
खबर बाकस/ मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न-नगराउन सचेत गराएको छ।
आयोगले एक प्रेस विज्ञप्ति निकालेर केही समयदेखि मधेशी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सद्भावमा खलल पार्ने काम भइरहेको जनाएको छ।
त्यस्ता काम गर्ने जुनसुकै व्यक्ति र संस्थामाथि प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुने आयोगले जनाएको छ। आयोगले यस्ता अमानवीय, गैर-संवैधानिक तथा गैर-कानुनी कार्यले राष्ट्रिय एकतामा असर गर्न सक्ने जनाएको छ।
आयोगले मधेशी समुदायले नै सीमा रक्षा गरिरहेको जनाउँदै यो समुदायको महत्वपूर्ण र गौरवशाली पृष्ठभूमि रहेको पनि उल्लेख गरेको छ। तर समय समयमा यस्ता घटनाबाट पीडित हुनुपर्ने कुराप्रति आयोगले चिन्ता जनाएको छ।
आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सहित आयोगका सदस्यहरुले यस्ता संवेदनशील घटनाको अनुगमन हुने गरेको जनाइएको छ। यस्ता घटनाप्रति आयोगले तुरून्त यथाशिघ्र छानविन गरी दोषीलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई सिफारिस समेत गरिरहेको जनाएको छ।
आयोगको सिफारिसपछि सम्बन्धित निकायले ती घटनाबारे छानविन गरेर दोषीलाई कानुनी दायरामा ल्याएको जनाएको छ। आयोगले यस्ता घटनाको उजुरी आयोगमा विभिन्न माध्यमबाट दिन भनेको छ।