भरतपुर महानगरको मेयरमा कांग्रेसका दुई दर्जन भन्दा बढ़ी आकांक्षी

संवाददाता
२८ चैत्र २०७८, सोमबार २३:२८

खबर बाकस/ चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका दुई दर्जन नेता तथा कार्यकर्ताहरुले मेयरमा आकांक्षा देखाएका छन् । मेयरमा आकांक्षा देखाउनेमा प्रदेश मन्त्रीदेखि विश्वविद्यालयका प्राध्यापकसम्म छन् ।

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको नाम संकलन गरेकामा दुई दर्जन बढी आकांक्षीले मेयरमा र दुई दर्जनले नै उपमेयरमा नाम दर्ता गराएका छन् । दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज दोस्रो दिनमा थप १२ नेताले मेयरमा र ११ जनाले उपमेयरमा नाम दर्ता गरेका हुन् । आज थपिएसँगै मेयरमा २५ जना र उपमेयरमा २४ जना आकांक्षी पुगेका छन् ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार हिजो आइतबार र आज सोमबार मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगरका उसभापति चित्रसेन अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयन आज साँझसम्म चलेको थियो ।
कांग्रेस भरतपुर महानगरका उपसभापति बुद्धिकान्त न्यौपानेका अनुसार आइतबार पहिलो दिन भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् । आज दोस्रो दिन मेयर पदका लागि नाम दर्ता गर्नेमा घनश्याम दवाडी, हिरामणि अधिकारी, डा.सूर्यकान्त घिमिरे, राजेन्द्र डोटेल, टेकप्रसाद गुरुङ, डा.केशबभक्त सापकोटा, प्रकाश अधिकारी, मिलनबाबु श्रेष्ठ, भरत गुरुङ, शम्भुप्रसाद अर्याल, सुबोध प्रधान र मीनाकुमार खरेल रहेका छन् ।

यस्तै, पहिलो दिन आइतबार उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ र राजिब न्यौपानेले मनोनयन दर्ता गराएको उपाध्यक्ष न्यौपानेले बताए । उनले आज दोस्रो दिन विदुर केसी, गौरी खरेल अधिकारी, विजय घले, बिनु रायमाझी, गीता गुरुङ, सूर्यनाथ अधिकारी, महेन्द्र श्रेष्ठ, भोजराज कौडेल, सुरवीर पोखरेल, निर्मलराज पौडेलले उपमेयरमा आकांक्षा देखाएर नाम दर्ता गरेको नारायणी अनलाइनलाई जानकारी दिए । न्यौपानेले भने, ‘महानगरको मेयर कांग्रेसले नपाउने भन्ने छैन । पाउने निश्चित नै हो ।’

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो । सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंबाट फर्किए लगत्तै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*