गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा

चितवन \ सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
निर्माणाधीन ६ लेनको गोन्द्राङ–पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो । नालाको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गैंडा मरेको हो ।
नाला खनेर महिनौँसम्म यत्तिकै छाड्दा यो सडकखण्डमा दुर्घटनाको जोखिम छ । गैंडा मरेको ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने भएकाले नाला निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य बताउनु हुन्छ ।
मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाला बनाउन निकुञ्जको स्वीकृति पनि नलिइएको उहाँले बताउनु भयो । ‘सडकले अनुमति नलिई काम गर्यो । ठेकेदारले काम गर्दा विचार पुर्याएन, लापरबाही गर्यो’, उहाँले भन्नुभयो, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो । त्यो देखिएन ।’
लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने उहाँले बताउनु भयो। ‘अहिले हामीले अनुसन्धान गर्छौँ, मुद्दा चल्नेनचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ’, उहाँले भन्नुभयो ‘अनुसन्धानलाई अघि बढाउन सहायक वार्डेनलाई अनुसन्धान अधिकृत तोकेको छु ।’
लापरबाहीकै कारण गैंडाको मृत्यु भएको भन्दै लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने संरक्षणकर्मीहरूले बताएका छन् ।