एमाले महाधिवेशनमा मौन पूर्वमाओवादी नेताहरु
चितवन \ तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा पूर्वमाओवादीका कतिपय नेता एमालेमै छन् । उनीहरु पहिलो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहभागी भए ।
पूर्वमाओवादी रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत नेताहरू मात्रै एमाले महाधिवेशनमा छैनन्, विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन भएर आएका पूर्वमाओवादी नेताहरू पनि छन् । महाधिवेशन प्रतिनिधि नै भएर आइसक्दा पनि उनीहरू पूरै खुल्न सकिरहेका थिएनन् । ‘कुनै माग र दाबी छैन सहमतिका पक्षमा छौं’, भन्दै पूर्वमाओवादी नेताहरू एमालेमा पूर्वमाओवादीको व्यवस्थापन, नेतृत्व चयन लगायत प्रश्न पन्छाइरहेका छन् ।
‘मसँग अहिले बोल्ने केही छैन’ भन्दै शनिबार बिहान चितवनको सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग नेता लेखराज भट्ट पन्छिरहेका थिए । सँगै रहेका नेता मणि थापा पत्रकारसँग पूरै पन्छिरहेका त थिएनन् तर खुलेर बोल्न पनि सकिरहेका थिएनन् । ‘माओवादीमा राजनीति गर्दागर्दै नेकपा भइयो र नेकपाको निरन्तरतामा एमालेमै रहियो । यसकारण केही नौलो अनुभव महाधिवेशनमा हुनु स्वाभाविक हो’ उनले भने । एमालेमा पूर्वमाओवादीको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कुनै दाबी र बार्गेनिङ छैन । सहमतिमा जे हुन्छ त्यसै अनुसार अगाडि बढिन्छ ।’
चुनाव भए हारिन्छ भन्ने हो कि भन्ने प्रतिप्रश्नमा उनले पुरानै कुरा दोहोर्याए, ‘कुनै माग र दाबी छैन सहमतिको पक्षमा छौं।’ नेतृत्वका दृष्टिले नेकपा एमालेमा केपी ओलीको विकल्प नरहेको उनको जिकिर थियो । तर किन ओली नै ? भन्ने प्रश्नमा थप व्याख्या गर्न उनले चाहेनन् । बरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उदाहरण दिए । ‘माओवादीमा प्रचण्डको नेतृत्व सदाबहार छ । केपी ओलीको त दोस्रो कार्यकाल न हो’ उनले भने ।