आउँदो चुनावपछि एमालेको नेतृत्वमा सरकार बन्छ : केपी ओली
चितवन \ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावपछि आफ्नाे पार्टीकाे नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अब लगतै तीन तहको चुनाव आउने र ती चुनावमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
साथै उहाँले अहिले बाँकी रहेका विकासका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नेसमेत बताउनुभयो । ‘चुनाव आउँदैछन् । हामी अब चुनावको तयारीमा जानेछौँ । देशको सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने छ’, ओलीले भन्नुभयाे ।
सम्बाेधनकै क्रममा उहाँले नेकपा एमालेकाे सरकारले विभिन्न लाेकप्रिय कार्यक्रम ल्याएकाे बताउँदै आफ्नाे पार्टी देश बनाउने पार्टी भएकाे उल्लेख गर्नुभयाे ।
संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि पनि एमालेले बहुमत ल्याउनुपर्ने अध्यक्ष ओलीकाे भनाइ थियाे ।