एमाले महाधिवेशन : चितवनमा सुरक्षा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक
चितवन \ नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ ।
पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल पठाइएको छ ।
पुल्चोक र गैंडाकोट जोड्ने पुलमा लहरै प्रहरी खटाइएको छ । यस्तै ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ । मालवाहक सवारीसाधन विहानसम्म चलेका भएपनि अहिले सवारी साधनको चाप ज्यादै कम छ ।
उद्घाट्न स्थल नारायणी नदी किनारमा विहानैदेखि मानिसहरु भरिन थालेका छन् । विभिन्न जिल्लाबाट आएका एमाले कार्यकर्ताहरु उद्घाट्न स्थलमा पुगिसकेका छन् भने चितवन र आसपासका जिल्लाबाट आएका सर्वसाधारण पनि नारायणी नदी किनारमा पुग्दैछन् ।