एमाले महाधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं \ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ ।
त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा रहेको १५ सदस्यीय कमिटीले मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम बनाएको छ । उक्त दिन उम्मेदवारी फिर्ता लिने र बेलुकी ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मंसिर १२ गते मतदान प्रक्रिया हुने छ ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् । महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ । १० गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ । शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।
एमालेको विदेश मामिला प्रमुख तथा महाधिवेशनका अतिथि सत्कार समितिका संयोजक डा. राजन भट्टराईले काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा ४ देशका १५ जना अतिथि महाधिवेशनमा सहभागी हुने जानकारी दिए । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको भने भिडियो सन्देश आएको छ । भट्टराईका अनुसार भारतबाट ७ जना, कम्बोडियाबाट ४ जना, बंगलादेशबाट ३ जना र श्रीलंकाबाट १ जना अतिथि महाधिवेशनमा सहभागी हुनेछन् ।