कृषि ज्ञान केन्द्रको युवा लक्षित र सामुहिक खेतीको कार्यक्रम
चितवन \ कृषि विकास निर्देशनालय अन्तरगत रहेको कृषि ज्ञान केन्द्र चितवनले आगामी आव २०७८/०७९को कार्ययोजना तथा कार्यक्रम सार्वजानिक गरेको छ । केन्द्रले गत आवको जस्तै युवा लक्षित कार्यक्रमहरुका साथै सामूहिक खेती, व्यवसायिक खेती, बेमौसमी तरकारी खेती, फलफुलका कार्यक्रम, वीऊ उत्पादन, कृषि पर्यटन प्रवर्धन, सिचाई, साना कृषि यन्त्रहरु वितरण, उच्च प्रविधि युक्त संरक्षित संरचनामा तरकारी खेती लगायत विभिन्न कार्यक्रमहरु सार्वजानिक गरेको छ ।
तत्कालीन केन्द्र प्रमुख राजन ढकाल (हाल मन्त्रालय सरुवा भइसकेका छन् ।) ले आफुले कार्य योजना तयार पारिएकोले सरुवा भएता पनि प्रस्तुतीकरण गरेको भन्दै उनले १३ करोड ३८ लाख ९४ हजारको बजेटमा रहि कार्यक्रम गरिनुपर्ने र सोही अनुरुप कार्ययोजना तयार पारेको बताए । पुजीँगत बजेट १८ लाख ५ हजार र चालुतर्फ १३ करोड २० लाख ४५ हजार रहेको बताए ।
उनले प्रादेशिक कार्यक्रम अन्तरगत सामुहिक खेती कार्यक्रम, एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना फार्मको विकास कार्यक्रम, तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण, मूल वीउ तथा स्वदेशी हाइव्रीड वीउ उत्पादन कार्यक्रम, विदेशबाट फर्किएका युवा लक्षित कृषि कार्यक्रमहरु, च्याउ प्रवर्धन कार्यक्रम, नर्सरी विकास कार्यक्रम, उच्च प्रविधियुक्त तरकारी खेती कार्यक्रम, युवा लक्षित व्यावसायिक कृषि कार्यक्रम, साना सिँचाई तथा स्यालो बोरिङ कार्यक्रम, ड्रागन, कागती र तरकारी खेतीको पकेट विस्तार गर्ने कार्यक्रम, कृषि यन्त्रहरुको वितरण लगायत थुप्रै कार्यक्रमहरु रहेको र सोही अनुरुप बजेट पनि विनियोजन गरिसकेको ढकालले बताए ।
उनले गत आवमा गरेका प्रगती विवरण समेत सार्वजानिक गरेका थिए । केन्द्रले मकवानपुर र चितवनमा आफ्नो कार्य गर्दै आइरहेको बताउदैं कोभिडका कारण केहि कामहरु भने गर्न नसकेको बताए । केन्द्रले गरेको अधिकांश किसान युवा रहेको बताउदैं प्रमुख ढकालले विषादी रहित प्राङगारिक उत्पादनको पहिचान सहितको बजारिकरण अभियान चलाउदैं चितवनमा दुई स्थानमा आउटलेट स्थापना गरी परिक्षण गरिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख अतिथ्यता भएको वार्षिक कार्यक्रम सार्वजानिक कार्यक्रममा केन्द्रका प्रमुख युवराज पाण्डेको अध्यक्षता रहेको थियो ।