चितवनमा साउन ३२ गतेसम्म निषेधाज्ञा थप, के-के सञ्चालन गर्न पाउने, के-के नपाउने (आदेशसहित)

संवाददाता
२४ श्रावण २०७८, आईतवार १७:१६

चितवन \  चितवनमा जारी निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गते राति १२ बजेसम्मका लागी थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको बैठकले निषेधाज्ञा साउन ३२ गतेसम्म निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरिएको प्रशासनले जनाएको छ ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :-

नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमणको जोखिम यस जिल्लामा अझैसम्म पनि उच्च रहेको तथा यस जिल्लामा कोभिड -१ ९ को नयाँ भेरियन्ट ( डेल्टा भेरियन्ट ) समेत पुष्टि भैसकेको , संक्रमणको दर निरन्तर बढ्दै गएको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड -१ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन २०२८ को दफा ( ६ ) को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति ०७८।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुनेगरी मिति २०७८।०४।२४ गते राति १२:०० बजे देखि मिति २०७४।०४।३२ गते राति १२:०० बजेसम्म चितवन जिल्लाभर लागू हुनेगरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ । यो आदेशको उलंघन गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

क ) अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कने । अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने , भौतिक दुरी कायम गर्ने तथा भिडभाड नगर्ने नगराउने ।

ख ) संचालन गर्न नपाइने सेवा तथा कार्य :

१. भौतिक रूपमा उपस्थित भई हुने सबै प्रकारका सभा , सम्मेलन , प्रदर्शन , भेला , सेमिनार , तालिम जात्रा , महोत्सव सञ्चालन ।

२. सिनेमा , पार्टी प्यालेस , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , फिटनेस सेन्टर , जिमखाना , ठेला तथा फुटपाथ पसल , स्पा , स्वीमिङ्ग पुल , सपिङमल , मनोरञ्जनस्थल , स्ट्रिटफुड पसल , ब्युटी पार्लर तथा सैलुन सञ्चालन ।

३. विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठनापाठन लगायतका शैक्षिक गतिविधि सञ्चालन ।

४. मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पूजा बाहेक मानिसहरु समूहमा जम्मा । भेला भई गरिने अन्य धार्मिक , साँस्कृतिक एवं सामाजिक गतिविधि ।

ग ) संचालन गर्न पाइने सेवा तथा कार्य :

१. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल , एग्रोभेट तथा भेटेरीनरी औषधि पसल सञ्चालन ।

२. जिल्ला स्थित सबै सरकारी कार्यालयहरूले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सेवाप्रवाह गर्ने । बढि भिडभाड हुने कार्यालयहरूले हप्ताको बार अनुसार फरक / फरक बार सेवाप्रवाह हुने स्थानीय तह तोकी आलोपालो प्रणाली अवलम्बन गरी भिडभाड नहुने प्रबन्ध मिलाई गरिएको सेवा प्रवाहलाई निरन्तरता दिने ।

३. खाद्यान्न , तरकारी , फलफूल , दूध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , खाना पकाउने ग्याँस सम्बन्धी पसल , एग्रोभेट , बीउबिजन , रासायनिक मल र भेटेनरी औषधि पसल , पूजा सामग्री पसल दैनिक बिहान १०:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा बेलुका ५:०० बजेदेखि ७:०० बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

४. इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल , भाँडा पसल , कपडा पसल , फेन्सी पसल , कस्मेटिक तथा गिफ्ट पसल , सुनचाँदी पसल , फर्निचर तथा फर्निसिङ , अटोमोबाइल , मोटरपार्ट्स , जुत्ता चप्पल , टेलरिङ , पुस्तक तथा स्टेशनरी पसल , वर्कशप , निर्माण सामग्री लगायतका व्यापारिक पसल आइतबार , मंगलबार र विहिवार दिउसो १२:०० देखि साँझ ६:०० बजे सम्म सञ्चालन गर्न पाइने ।

५. खाजा घर , रेष्टुरेण्ट र मिठाई पसलहरु दिउसो १२:०० बजे देखि वेलुकी ६:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने ।

६. जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी बैंक तथा वित्तीय संस्था , सहकारी , विमा तथा रेमिट सेवा सञ्चालन गर्न पाइने तर वित्तीय तथा सहकारी संस्थाबाट घरदैलोमा गई रकम संकलन तथा समूह भेला सञ्चालन गर्न नपाइने ।

७. उद्योग / कलकारखानाको हकमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने । नियमित कामदारहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने ।

८. होटेल / लज सञ्चालन सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालन गरी कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने । कोठाहरु प्रत्येक दिन अनिवार्य रुपमा निसंक्रमण ( disinfection ) गर्ने ।

घ ) संचालन गर्न पाइने सवारी साधनहरु :

१. अत्यावश्यक सेवामा प्रयोग गरिने सवारी साधनहरु , खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य सामग्री ढुवानी गर्ने सवारी साधनहरु , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनहरु , मालवाहक सवारी साधनहरु , सरसफाई तथा फोहोर मैला व्यवस्थापन कार्यमा प्रयोग हुने सवारी साधनहरु ।

२. समाचार संकलन / संप्रेषणका लागि परिचय पत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

३. अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।

४. राजमार्ग भई अन्य जिल्लामा जाने सवारी साधनहरु ।

५. जिल्ला भित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधनमा देहायका मापदण्ड पालना गर्नेगरी सञ्चालन गर्ने :

  • सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
  • सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने ।
  • मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
  • चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउने ।
  • सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्ने ।
  • सवारी साधन दैनिक निसंक्रमण ( disinfection ) गर्ने ।

६. यस जिल्लावाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा माथि ५ नं बुंदामा उल्लेखित मापदण्ड अनिवार्य रुपमा पालना गर्ने / गराउने गरी अत्यावश्यक प्रयोजनमा सम्वन्धित यातयात व्यवसायी संघ / समितिको सिफारिस एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सीमित संख्यामा संचालन गर्ने ।

ङ ) संक्रमण दर घट / बढ भएमा यस आदेशमा भएका व्यवस्थाहरु जुनसुकै समयमा पनि पुनरावलोकन गर्न सकिनेछ । च ) सम्बद्ध सबै पक्षको सहयोग तथा समन्वयमा “ मास्क अभियान ” प्रभावकारी रूपमा सञ्चालन गर्ने ।

छ ) साथै उल्लिखित आदेशको पालना तथा कार्यान्वयनमा आवश्यक सहयोग , समन्वय तथा सहजीकरण हुन सम्बद्ध सवै सरोकारवाला तथा आम चितवनवासी दिदीबहिनी तथा दाजुभाइ समक्ष हार्दिक अनुरोध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*