भरतपुर अस्पतालमा बढ्न थाले सर्पले डसेका बिरामी
चितवन \ भरतपुर अस्पतालमा गएको तीन महिनामा विषालु सर्पले डसेका ३५ बिरामीको उपचार गरिएको छ । सर्पले डसेर दैनिक पाँच/सातजना बिरामी अस्पताल आउने गरेका छन् ।
अस्पतालका आकस्मिक सेवा प्रमुख राजकुमार ढुङ्गानाका अनुसार वैशाखदेखि असार मसान्तसम्म विषालु सर्पले डसेर आएका ३५ जनाको उपचार गरिएको छ । सर्पले डसेर दैनिक आउने बिरामीलाई २४ घण्टा निगरानीमा राख्ने गरिन्छ । त्यस पश्चात् विष नदेखिएमा घर पठाउने गरिन्छ । उहाँले भन्नुभयो “केले टोक्यो भनेर आउने समेत जोड्दा दैनिक यो सङ्ख्या १० जनाको हाराहारी हुने गर्दछ ।” जिल्लामा भरतपुर अस्पतालमा मात्र सर्पदंशको बिरामीको निःशुल्क उपचार हुन्छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवनसहित बारा, मकवानपुर, गोरखा, लमजुङ्, तनहुँ र नवलपरासीका बिरामी यो अस्पतालमा उपचारका लागि आउने गरिन्छ । तीमध्ये पनि ठूलो सङ्ख्यामा नवलपरासीका बिरामी आउने गर्दछन् । अस्पतालले एन्टिस्नेक भेनम निःशुल्क उपलव्ध गराउँदै आएको छ ।