पत्रकार महासंघ बेलायतमा पहिलो महिला अध्यक्ष बनिन् विमला सेने

संवाददाता
३२ असार २०८१, सोमबार ०४:३५

नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा विमला सेने निर्वाचित भएकी छन् । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैठौं अधिवेशनले सेनेको नेतृत्वमा नयां कार्यसमिति निर्वाचित गरेको हो ।

अरु दुई प्रतिष्पर्धी श्यामकुमार लुईंटेल र दिनेशकुमार परियारलाई पराजित गर्दै सेने शाखाको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

यसअघि कार्यसमितिका अरु सबै पद निर्विरोध भइसकेका छन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम छन्।

त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शाखाका पूर्व अध्यक्ष नरेश खपांगीमगर प्रमुख निर्वाचन आयुक्त र पूर्ण गुरुङ एवं प्रजय शुक्ल सदस्य रहेको निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।

निर्वाचन प्रमुख आयुक्त नरेश खपांगीमगर, निवर्तमान अध्यक्ष ध्रुवराज अर्याल, निर्वाचन पर्यवेक्षक एकेन्द्र गुरुङलगायतले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष विमला सेने

शपथग्रहणपछि नवनिर्वाचित अध्यक्ष विमला सेनेले जिम्मेवारी सुम्पिएकामा सबै मतदातालाई धन्यवाद दिइन् । सेनेले पदीय जिम्मेवारी वहन गरेका सबैमा बधाई पनि दिइन् ।

प्रवासमा पत्रकारिता सहज नभएको जनाउंदै उनले सामाजिक सञ्जालका कारण अहिले कुन समाचार ठीक कुन बेठीक छुट्याउन थप चुनौति आएको बताइन् । महासंघलाई पत्रकारहरुको साझा प्लेटफर्मका रुपमा सबैलाई समेटेर लैजाने उनको अठोट थियो ।

आफ्ना दुई प्रतिष्पर्धी उम्मेदवार मैदानबाट बाहिरिएकामा उनले दुःख व्यक्त गरिन् । उनले आगामी दिनमा महिला पत्रकारहरुको संख्या बढाउन पहल गर्ने र नयां साथीहरुलाई पनि संघमा ल्याउन प्रयत्न गर्ने बताइन् । पत्रकार महासंघ बेलायतको गरिमा बढाउन आफूले कुनै कसर बांकी नराख्ने उनको प्रतिवद्धता थियो ।

त्यसअवसरमा निर्वाचन पर्यवेक्षकको भूमिका स्थानीय समुदायका अगुवाहरु एकेन्द्र गुरुङ, विक्रम भट्टराई र मान गुरुङले निर्वाह गरेका थिए ।

यसअघि अध्यक्ष ध्रुवराज अर्यालको सभापतित्वमा भएको अधिवेशन शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर र अध्यक्ष ध्रुवराज अर्यालले उद्गघाटन गरेका थिए ।


उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि तथा महासंघ लेखा संयोजक लेखनाथ न्यौपानेले महासंघ प्रेस र वाक स्वतन्त्रता तथा श्रमजिवी पत्रकारहरुको व्यवसायिक हक हित एवं श्रम समस्या समाधानका लागि कटिवद्ध रहेको बताए ।

उनले बेलायत शाखाले समयमै अधिवेशन गर्ने तर केन्द्रिय अधिवशन विभिन्न स्वार्थ समूहले रोक्नु दुःखद भएको उल्लेख गर्दै क्षमायाचना गरे । लोकतान्त्रिक प्रक्रियामा निर्वाचन एउटा आत्मा रहेको उनको भनाइ थियो ।

न्यौपानेले डायष्पोरामा पत्रकारिताका कयौं चुनौति रहेको उल्लेख गर्दै प्रवासको पत्रकारिता सामुदायिक पत्रकारिता रहेको र पत्रकारहरुले पत्रकारिताको माध्यमबाट समुदायमा अतुलनीय सहयोग गरेको बताए ।

केन्द्रिय प्रतिनिधि न्यौपानेले बेलायत शाखाले केन्द्रलाई गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै शाखाले भूकम्प, कोभिड लगायत अन्य कालखण्डमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

उनले श्रमजिवी पत्रकारहरुको मुद्दा पेचिलो बन्दै गएको र आर्थिक मन्दीका कारण मिडिया थप प्रभावित भएको धारणा राखे।

श्रम समस्याको दीर्घकालिन समाधान कानूनबाटै हुने जनाउंदै उनले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा सबैको पहल हुन आवश्यक रहेको जनाए । सामाजिक सञ्जालमा प्रपोगाण्डा बढेका र यसलाई चिर्न आवश्यक रहेको पनि उनको जोड थियो ।

महासंघ र विदेश शाखाले मिडिया साक्षरतालाई अभियानमा लैजान आवश्यक रहेको र यो अनिवार्य शर्त रहेको न्यौपानेले बताए । प्रेस र अभिव्यक्ति स्वतन्त्र संविधानमा लेखेपनि व्यवहारमा अझै लागू नभएको अवस्था उल्लेख गर्दै उनले अब पत्रकार आचारसंहितामा समेत संशोधन गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले केन्द्रमा दुई पटक अधिवेशन स्थगित भएपनि बेलायत शाखाले निर्धारित समयमा अधिवेशन गरेकामा बधाई तथा शुभकामना दिए । उनले नेपालमा रहेका पत्रकारहरुको समस्यामा सहयोगी बनेकामा शाखालाई धन्यवाद दिए ।

बस्नेतले महासंघ सबै पत्रकारहरुको साझा संस्था कसरी बनाउन सकिन्छ र पत्रकारका समस्यामा कसरी सहयोगी बनाउन सकिन्छ भन्नेबारे गम्भीर हुनुपर्ने बताए । उनले एक अर्कामा दोषारोपण गरेर होइन, सहकार्य गरेर अगाडि बढ्न पनि सुझाए ।


नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारीले शाखाले बेलायतमा बसोबास गर्ने नेपाली पत्रकारहरूलाई संगठित गर्दै आफ्नो पेशागत ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न कार्य गर्दै आउनु प्रशंसनीय रहेको बताउंदै बेलायतको नेपाली समुदायसित नियमित रूपमा सहकार्य र समन्वयसहित बेलायतमा नेपाली पत्रकारिताको पेशागत विकास र मिडियाहरूको दीगो व्यवस्थापनका लागि पहल गर्न महासंघलाई अनुरोध गरिन् ।

केन्द्रको महाधिवेशनपस्चात नयाँ नेतृत्व आइसक्नुपर्नेमा सक्रिय सदस्य हटाएर महासङ्घले गैर पत्रकारको सङ्ख्या बढाएकोमा आपत्ति जनाउँदै युनियनले केन्द्रीय कार्यलयमा ताला लगाएको तर शनिबार मात्रै युनियन र महासंघबीच निर्वाचन प्रक्रिया अगाडि बढाउने सहमति भइसकेकाले महासंघकै मर्म अनुरुप पक्कै पनि अघि बढ्ला भन्ने अपेक्षा गरिएको बताइन् ।

उनले आफ्नो व्यक्तिगत र नेपाल प्रेस युनियनकातर्फबाट सहभागी हुने अवसर दिएकामा आयोजक एफएनजे यूकेप्रति आभार समेत व्यक्त गरिन्।

शुभकामना मन्तव्यका क्रममा फोनिज केन्द्रिय अध्यक्ष गजुरधन राईले अधिवेशन सफलताको शुभकामना दिंदै पत्रकार महासंघ केन्द्रमा महाअधिवेशन अन्यौलता हुनु बिडम्बना भएको बताए ।

महासंघले पूर्वाग्रह बमोजिम आफ्ना सदस्यहरुको निष्कासन गरेको भन्दै असहमति जनाए । राईले प्रेस स्वतन्त्रता खुम्चिंदै जाने हो कि भन्ने चिन्ता समेत प्रकट गरे । उनले कन्टेन्ट र मानव संशाधनमा बराबर प्राथमिकता दिन पनि आग्रह गरे ।

युरोप अध्यक्ष केजिन राईले शुभकामना दिंदै यूके र युरोप शाखाबीच हुंदै आएको सहकार्य निरन्तरतामा जोड दिए।

शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरले सन् २०११ सालतिर सबे नेपाली पत्रकारका लागि साझा प्लेटफर्मका रुपमा महासंघको शाखा खोल्ने परिकल्पना गरिएको स्मरण गरे । सञ्चारमाध्यमका माध्यमबाट कर्मभूमि र मातृभूमिलाई जोड्ने उद्देश्य हुनुपर्ने भन्दै उनले महासंघले समुदायसंगको सहकार्य, सम्बन्ध अझ राम्रो बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपाध्यक्ष शिव भण्डारीले मन्तव्य दिंदै सहभागी सबैलाई धन्यवाद दिए।


कार्यक्रमका सभापति शाखा अध्यक्ष ध्रुवराज अर्यालले सहभागी सबै अतिथि, पर्यवेक्षक र प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरे । तीन वर्षअघि ५ औं कार्यसमितिको नेतृत्व गर्ने गौरवशाली अवसर प्राप्त गरेको स्मरण गर्दै उनले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।

महासंघको आकार सानो भएपनि समुदायले निकै ठूलो महत्व दिएको अर्यालले उल्लेख गरे । गतिशील संस्थामा वाधा, अवरोध र असन्तुष्टिहरु आउनु स्वभाविक हो भन्दै उनले संस्थाको विधि, विधान र पद्धतिभित्रै रहेर समाधान खोजिएको दाबी गरे ।

सो अवसरमा संस्थाको १३ औं वार्षिकोत्सव केक काटेर उल्लासपूर्वक मनाइएको थियो ।अधिवेशन उद्घाटन सत्र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए भने अधिवेशन संयोजक एवम् उपाध्यक्ष प्रमिला लावुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

अधिवेशनको दोस्रो चरणमा गरिएको बन्द सत्रमा महासचिव नरेन्द्र बस्नेत र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङका प्रतिवेदनहरुमाथि घनीभूत छलफल गरी पारित गरिएको थियो।

अधिवेशनले महासंघ केन्द्रसंग समेत समन्वय गरेर शाखाको विधान निमार्ण गर्ने प्रस्ताव पारित गर्दै उक्त कार्यको जिम्मा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष नरेश खपांगीमगर र निवर्तमान अध्यक्ष ध्रुवराज अर्याललाई सुम्पिएको छ ।

बन्दसत्रमा प्रमिला लावुङ, शिव भण्डारी, खेमराज रानाभाट, विश्वासदीप तिगेला, सुरेन्द्र इंगनाम, फडिन्द्र भट्टराई, नारायण गाउँले, अमित थेवेसहितका सदस्यहरुले आआफ्ना धारणाहरु राखेका थिए ।

सचिव मञ्जु भण्डारीले सञ्चालन गरेको उक्त सत्रमा व्यक्त जिज्ञासा तथा प्रश्नहरुमा अध्यक्ष ध्रुवराज अर्याल, पूर्व अध्यक्ष नरेश खपांगीमगरलगायतले जवाफ दिए ।

अधिवेशनमा भौतिक तथा भर्चुअल माध्यमबाट गरी संस्थाका अधिकांश सदस्यहरुको उत्साहजनक सहभागिता थियो ।

समाचार साभार: Nepalilink

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*