अध्यक्ष पदमा ओली भारी मतान्तरले विजयी
चितवन \ नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । आज बिहान भएको मतदानको मत परिणाम अनुसार ओलीले उनका प्रतिद्वन्द्वी भीम रावललाई हराउँदै निर्वाचित बनेका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । ६९ वटा भोटिङ मेसिनमा महाधिवेशन प्रतिनिधि मत रेकर्ड भएको थियो ।